काभ्रेको थामलेखमा डढेलो नियन्त्रण बाहिर

ज्योती श्रेष्ठ, माघ ११, २०८१

करिब १ सय हेक्टर वन क्षेत्रमा आगो, बस्तीमा छैन जोखिम

काभ्रे — मध्य हिउँदमै काभ्रेको महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ । मंगलबार दिउँसो २ बजेको समयबाट खानीखोला गाउँपालिका-१ को थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार सामुदायिक वनमा लागेको डढेलो बारे खबर प्राप्त भए लगत्तै प्रहरी चौकी फलामेटारबाट खटिएको टोली, सुरक्षा निकाय, वन डिभिजन कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधिलगायतले डढेलो निभाउन प्रयास गरिरहेका छन् ।

भीर भएको वन क्षेत्रमा आगलागी भएका कारण तत्काल आगो निभाउन सकिएको छैन । आगलागी भएको वन क्षेत्रमा सेना र प्रहरीको टोली परिचालति भए पनि तत्काल आगो निभाउन सम्भव नभएको उनले बताइन् ।

उक्त आगो गाउँ बस्तीबाट अन्दाजी ४ किलोमिटर उत्तर टाढा पर्ने, हालसम्म मानवीय तथा चौपायको क्षति नभएको जानकारी प्राप्त भएको उनले जानकारी दिइन् । उनका अनुसार वनमा लागेको आगो मानवबस्तीसम्म आउन नदिनका लागि सुरक्षाकर्मीले अनुगमन गरिरहेको र जोखिम देखिए तत्काल स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ ।